थाइरोइड क्यान्सरबारे जान्नै पर्ने १० तथ्य ||

थाइरोइड मानिसको रूद्रघन्टीको तल रहेको एउटा ग्रन्थी हो । यस ग्रन्थीले उत्पादन गर्ने हर्मोनलाई थाइरोइड हर्मोन भनिन्छ । यही ग्रन्थीमा देखिने समस्या र यसले उत्पादन गर्ने हर्मोनको सन्तुलन बिग्रिएमा थाइरोइड सम्बन्धी रोग लाग्छ ।

थाइरोइड हर्मोनको उत्पादन बढी भए पनि र कम भए पनि समस्या हुन्छ । बढि भए हाइपर-थाइरोडिजम् भनिन्छ भने कम उत्पादन भए हाइपो-थाइरोडिजम् । दुबैको उपचार सहज हुन्छ र समाजमा प्रशस्तलाई यी समस्या हुन्छन् ।

थाइरोइड क्यान्सर, थाइरोइड ग्रन्थीमा हुने क्यान्सर हो, यसबारे १० तथ्य:

१. थाइरोइड क्यान्सर बढ्दो क्रममा छ । गएको ३० वर्षमा थाइरोइड क्यान्सरको जोखिम ४ गुणासम्मले बढेको देखिएको छ । कारणहरू विभिन्न भए पनि सबै भन्दा बढ्दो क्यान्सरका रुपमा थाइरोइड क्यान्सर हो, त्यसैले हामीले यसको बारे बुझ्न जरुरी छ ।

२. थाइरोइड क्यान्सर जुन उमेरकालाई पनि हुन सक्छ । थाइरोइड क्यान्सर कुनै पनि उमेर समूहमा हुन सक्छ । स्कुल पढ्ने उमेरका युवाहरूदेखि लिएर बुढा बुढीलाई पनि । धेरै जसो यो क्यान्सर भने ४०-५० उमेरमा भेटिन्छ ।

३. थाइरोइड क्यान्सर महिलामा बढि देखिन्छ । थाइरोइडका अन्य समस्या जस्तै थाइरोइड क्यान्सर पनि महिलाहरूमा बढि देखिन्छ । तथ्याङ्क हेर्ने हो भने थाइरोइड क्यान्सर दुई-तिहाई महिलाहरूमा र एक-तिहाई पुरुषहरूमा हुन्छ ।

डा. आविश अधिकारी

डा. आविस अधिकारी

४. थाइरोइड क्यान्सर विभिन्न प्रकारका हुन्छन् । थाइरोइड ग्रन्थी विभिन्न कोषहरूले बनेको हुन्छ, जुनबाट विभिन्न प्रकारका क्यान्सर उत्पन्न हुन सक्छन् । ती क्यान्सरहरूको उपचार पनि फरक फरक हुन्छन् ।

५. थाइरोइड क्यान्सर छिटो भेटिए निको हुन्छ । धेरै जसो थाइरोइड क्यान्सरले समयमै उपचार पाए निको हुन्छन् । उपचारको लागी थाइरोइड ग्रन्थीलाई निकाल्नु पर्छ र धेरै जसोमा रेडियो-आयोडिन थेरापी र केहीमा किमोथेरापी वा रेडियोथेरापी उपचार गरे पछि धेरै जनामा त्यो रोग कहिल्यै फर्केर आउँदैन ।

६. थाइरोइड क्यान्सर पत्ता लगाउन सजिलो हुन्छ । डाक्टरले गर्ने सामान्य जाँचले नै थाइरोइड क्यान्सर पत्ता लगाउन सकिन्छ । घाँटीमा गिर्खाहरू हुनु मुख्य लक्षण भए पनि स्वयं बिरामीले भन्दा पनि डाक्टरले घाँटी छामेर ती गिर्खाहरू भेट्ने सम्भावना बढि हुन्छ । त्यसैले नियमित स्वास्थ्य जाँचमा घाँटीको जाँच पनि गरिनुपर्छ ।

७. घाँटीमा आउने सबै गिर्खा क्यान्सर हुँदैनन् । घाँटी छाम्दा कुनै गिर्खा भेटिन्छन् भने सबै थाइरोइड क्यान्सर हैनन् । धेरै जसो गिर्खाहरूको कारण दाँतको सङ्क्रमण, कपालको सङ्क्रमण, थाइरोइडका अन्य सामान्य रोगहरू हुन्छन् । तर। पनि डाक्टरी जाँच र गिर्खाको सुई जाँच (FNAC) नगरेर निर्क्यौल गर्न गाह्रो हुन्छ ।

८. केही थाइरोइड क्यान्सर कडा हुन्छन् । धेरै जसो थाइरोइड क्यान्सर निको गर्न सकिए पनि केही थाइरोइडका क्यान्सर (जस्तै anaplastic thyroid cancer) निकै छिटो बढ्ने र अन्य अंगहरूमा फैलिँदै, ज्यान नै लिन सक्ने हुन्छन् । यस्ता क्यान्सरहरूलाई छिटो भेट्न सके रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।

९. थाइरोइड क्यान्सरको अपरेसन पछि जिन्दगी भर औषधि खानु पर्छ । थाइरोइड ग्रन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्ने हो, सो ग्रन्थीको क्यान्सरको उपचारको लागि पुरा ग्रन्थी नै निकाल्नु पर्ने भएकाले जिन्दगी भरी थाइरोइड हर्मोनको गोली खानु पर्ने हुन्छ । त्यो सामान्य गोलीहरू हाइपो-थाइरोइडिजमका बिरामीले खाने गोली औषधि नै हुन् । वर्षौं खाँदा पनि यसका दुष्प्रभावहरू निकै न्युन हुन्छन् ।

१०. आफ्नो थाइरोडइ नियमित जाँच गरौं । थाइरोइड ग्रन्थि घाँटीमा भएको रूद्रघन्टीको वरिपरी हुन्छ । औंलाहरूले त्यो भागलाई छाम्दा केही भेटिन्छन् कि ? थुक निल्दा केही गिर्खाहरू चल्छन् कि भनेर जाँच्नुहोस् । घाँटीमा अन्य गिर्खाहरू छन् कि भनेर पनि आफै जाँच गर्नुहोस् र शंका लागे डाक्टरलाई भेट्नुहोस् ।

थाइरोइड क्यान्सर निको हुने दर विकसित देशहरूमा ९७ प्रतिशत माथि पुगेको छ । कोरियन अध्ययनले त ९९ प्रतिशत निको हुन्छ भनेर देखाइरहँदा नेपालको तथ्याङ्क नै हामीसँग छैन ।

थाइरोइड क्यान्सरको विश्वस्तरिय उपचारको लागी रोग पत्ता लगाउने रेडियोलोजी, प्याथोलोजी, अपरेसन गर्ने घाँटीको शल्यचिकित्सा र त्यस पछिको उपचारको लागी न्युक्लियर मेडिसिनको पनि सँगसँगै विकास हुन जरुरी छ । नेपालमा अहिले यो सबै उपचार उपलब्ध भएका छन् र धेरै जना विरामीलाई हामीले नेपालमा नै राम्रो उपचार गर्न सकेका छौं ।

डा. आविश अधिकारी क्यान्सर बिशेषज्ञ हुन् र ग्राण्डी अस्पतालमा कार्यरत छन् । र, यो लेख थाइरोइड क्यान्सर सर्भाइभर असोसियसनको लेखबाट प्रेरित छ ।

अनलाइन खबर बाट

Published On: Time : 12:10:48  940पटक हेरिएको

तपाईको प्रतिक्रिया